बालविवाह अन्त्य गर्न अछाममा साझा प्रतिबद्धता

Written by admin

बालविवाहमुक्त जिल्लाका लागि अभियानका साथ अघि बढ्नेबारे अछामका सरोकारवाला निकायले साझा प्रतिबद्धता जाहेर गरेका छन् । बालविवाहलाई शून्यमा झार्ने रणनीतिका साथ स्थानीय सरकार, अधिकारकर्मी, प्रशासन, प्रहरी र विकास साझेदार संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको बृहत् छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य माननीय पुष्पबहादुर शाहले कागजमा जति कडा कानुन बने पनि बालविवाहको अवस्था अझै उस्तै रहेको बताए । ‘जबसम्म चेतना पुग्दैन तबसम्म कानुन कार्यान्वयन हुन कठिन छ,’ उनले भने, ‘अहिले कानुनी रूपमा सबैलाई शिक्षाको अधिकार छ, तर यसको कार्यान्वयन भइरहेको छैन । त्यसैले बालविवाह रोक्न स्थानीय सरकार नै पहिला अघि सर्नुपर्छ ।’ यसका लागि जनप्रतिनिधि, प्रहरी प्रशासन र अन्य सरोकारवालाहरूले काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा गरेर अभियानमा लाग्नुपर्ने उनले बताए । पूर्वसांसद रामबहादुर विष्टले बालविवाह अन्त्य गर्न स्थानीय सरकारहरूले विशेष बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

बालविवाह अन्त्यका लागि अछामस्थित सामुदायिक रेडियो सोसाइटी एफएमको अगुवाइमा वर्ल्डभिजन इन्टरनेसनल, आस्था नेपाल र जिल्लास्थित अन्य एफएम रेडियोहरूसँगको साझेदारीमा स्थानीय सरकारलाई जवाफदेही बनाउन सुरु हुन लागेको बाल कचहरी नामक कार्यक्रमको बृहत् छलफलमा सहभागी जनप्रतिनिधिले समेत तालिम, गोष्ठी र अन्तर्क्रिया गरेर मात्र केही नहुने भन्दै समुदायमै पुगेर बालविवाहविरुद्ध लाग्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले प्रत्येक समुदायमा पुगेर बालबालिका, अभिभावक र सरोकारवालालाई सचेत पारिने उल्लेख गरे । त्यसका लागि नगरका सबै वडामा बाल कचहरी सञ्चालन गर्न बजेटको व्यवस्था गर्ने नगर प्रमुख ढकालले प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बालविवाह रोक्न कानुनी रूपमा सबैखाले सहयोग गर्ने बताए । ‘उमेर नपुग्दै विवाह गर्न पाइँदैन,’ उने भने, ‘बालविवाह रोक्न हामी पनि लाग्छौँ ।’

 

प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले टोलैपिच्छे बालविवाहका घटना भए पनि उजुरीको अवस्था भने शून्य रहेको बताए । कानुनका जानकार अधिवक्ता पुष्पराज शर्माका अनुसार अछाममा उमेर नपुग्दै हुने विवाहले विकराल रूप लिइरहेको छ ।

उनका अनुसार राष्ट्रिय जनगणनाले जिल्लामा ११ वर्षकै उमेरमा पनि बालबालिकाको विवाह हुने गरेको देखाएको छ । बालिका ३६३ र बालक २१४ जनाले विवाह गरेको देखिएको उनले बताए । शर्माले बालविवाहको यस्तो डरलाग्दो अवस्थामा पनि सरकार चुकिरहेको बताए । उनले भने, ‘संविधानले बालबालिकाबारे सर्वोत्तम हितबारे सोचेको छ । तर, चेतनाको अवस्था दयनीय छ ।’

विकास साझेदार संस्था आस्था नेपालकी अध्यक्ष निर्मला रावलका अनुसार बाल कचहरमार्फत जिल्लाका चार स्थानीय तहका १९ वटा वडामा समुदायमै पुगेर चेतना विस्तार गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु हुन लागेको हो । जसमा कमलबजार, पञ्चदेवल विनायक र साँफेबगर नगरपालिका तथा मेल्लेख गाउँपालिकाका वडामा बाल विकास, बाल समृद्धि र बाल सरोकारको अवस्था परीक्षण गरिनेछ ।