Written by Nirajan Shahi
अछाम, जेष्ठ ११– अछाम जिल्लाको मेल्लेख गाउँपालिका–६ स्थित षोडषादेवी वडालाई पूर्ण बालमैत्री स्थानीय शासन (Child Friendly Local Governance – CFLG) युक्त वडा घोषणा गरिएको छ। बाल अधिकार र बालमैत्री सेवा प्रवाहमा उल्लेखनीय प्रगति गर्दै ५१ वटा तहगत सूचकहरू पूरा गरी यो वडा CFLG घोषणा गरिएको हो।
यो मेल्लेख गाउँपालिकाको तेस्रो तथा अछाम जिल्लाको चौथो CFLG वडा हो। वडालाई बालमैत्री घोषणा गर्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यविधि, २०७९ मा उल्लेखित सबै मापदण्डहरू पुरा गरिएको जनाइएको छ।
शनिबार आयोजित घोषणा समारोहमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर कुँवर थिए। कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष, सबै वडाध्यक्षहरू, साफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर, विभिन्न सरोकारवालाहरू तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
घोषणालाई सफल बनाउन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आस्था नेपाल को आर्थिक तथा प्राविधिक सहयोग पुर्याएका थिए।
समारोहमा बालबालिकाको सहभागिता, साँस्कृतिक कार्यक्रमहरू तथा बाल अधिकार सम्बन्धी सन्देशहरू प्रस्तुत गरिएको थियो।
बाल अधिकार प्रवर्द्धनमा मेल्लेख–६ ले देखाएको सक्रियता र प्रतिबद्धता अन्य वडाहरूका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।